चिनीको भाउमा आफूखुसी वृद्धि ! सरकार रमिते

३० जेष्ठ २०७९, सोमबार ०९:५०

व्यापारीहरूले चिनीको भाउ आफूखुसी बढाएका छन । सरकारलाई थाहै नदिई उनीहरूले चिनीको भाउ प्रति केजी ११० पुर्‍याएका हुन ।

खुद्रा व्यापार संघकाअनुसार अहिले चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो ।

तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

बजारमा भारतबाट प्रतिबन्ध अघि आयात भएका र नेपाली उत्पादकले उत्पादन गरेको चिनी पाइन्छ । तर, भारतले निर्यात रोक लगाएपछि नेपाली उद्योगीले चिनी बिक्री रोकेको एक होलसेल व्यापारीले बताए । ‘नेपाली र भारतीय बजारको चिनी दुवै पाइँदा बजारमा चिनीको होलसेल मूल्य ९० रुपैयाँ थियो,’ ती व्यापारीले भने, ‘अहिले होलसेल मूल्य नै ९५ देखि एक सय रुपैयाँसम्म पुगेको छ, तर पनि चिनी पाइएको छैन् ।’ होलसेलमा ९५ रुपैयाँ माथि पुगेपछि खुद्रा मूल्य बढ्नु स्वभाविक भएको ती व्यापारीले बताए ।