पछिल्ला सातामा वाणिज्य बैंकहरूमा निक्षेप थपिन थालेको छ । सोही क्रममा गत साता मात्र वाणिज्य बैंकहरूमा करिब ७ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । गत चैत मसान्तको तुलनामा वैशाखमा निक्षेप घटेको थियो । त्यति बेलाको निक्षेपमा आएको कमीलाई वैशाख ३० को स्थानीय तहको निर्वाचनका लागि पैसा बाहिरिएको रूपमा विश्लेषण गरिएको थियो ।
जेठ लागेपछि भने निक्षेपमा निरन्तर सुधार आउन थालेको छ । यसलाई निर्वाचनका लागि बैंकबाट बाहिरिएको पैसा पुन: बैंकमा फर्किन थालेको रूपमा विश्लेषण गरिएको छ । राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
गत चैत मसान्तमा यस्तो निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ थियो । वैशाख ३० मा यस्तो निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको थियो । जेठमा रेमिट्यान्स आप्रवाहमा पनि केही सुधार भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्ला महिनाको तुलनामा आयातको वृद्धिदरमा कमी आएको, रेमिट्यान्स आप्रवाहमा सुधार भएको, निर्वाचनका क्रममा खर्च भएको रकम बिस्तारै बैंकिङ प्रणालीमा आउन थालेकोलगायत कारण पछिल्ला साताहरूमा निक्षेपमा लगातार वृद्धि भएको बैंकहरू बताउँछन् ।
निक्षेपमा सुधार भए पनि बैंकहरूको कर्जा प्रवाहमा भने सुधार देखिएको छैन । गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९६ अर्ब रुपैयाँ छ । गत वैशाख ३० मा यस्तो कर्जा ४१ खर्ब ९१ अर्ब रुपैयाँ थियो । गत चैत मसान्तमा बैंकहरूको कुल कर्जा प्रवाह ४२ खर्ब ९७ अर्ब रुपैयाँ थियो । तरलता अभाव भएको भन्दै अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेका छन् । नयाँ कर्जा प्रावह नभएको अवस्थामा केही पुरानो कर्जा असुली भएकाले कुल कर्जा प्रवाह घटेको हो ।
निक्षेप बढ्न थालेपछि वाणिज्य बैंकहरूको औसत कर्जा निक्षेप अनुपातमा पनि सुधार आएको छ । राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा कम (८९.९४ प्रतिशत) छ । सोही अवधिमा वाणिज्य बैंकहरूको मात्र सीडी अनुपात औसत ९०.३२ प्रतिशत छ ।
