पुँजी बजार देखिएका समस्या समाधान गर्नका लागि सुझाव समिति गठन भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार मात्रै पुँजी बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको जानकारी गराएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रालयको बैठकले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका हुन् ।
समितिले दिएको सुझावहरुका आधारमा तत्–तत् निकायहरुले गर्नुपर्ने कामहरु गर्नेगरी समिति गठन गरिएको अर्थमन्त्रीले जानकारी गराए ।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले मार्जिन कर्जाको कारण सेयर बजार धेरै घटेकाले त्यसको समय सापेक्ष मूल्यांकन गर्नुपर्ने बताए ।
अध्यक्ष हमालले लगानीकर्ताहरुको समस्या समाधानका लागि बोर्ड प्रतिवद्ध रहेको पनि बताए । मर्जरका कारण लामो समय सेयर कारोबार रोक्का रहने व्यवस्था हटाउन नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको पनि हमालले जानकारी गराए ।
अध्यक्ष हमालले चार महिनाभित्र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आइपीओमा आरक्षणको व्यवस्था गरिने पनि जानकारी गराएका छन् । बजारमा लगानी विविधिकरणका लागि नयाँ धितोपत्र औजारको पनि विकास गरिने उनले बताए।
यता, बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने हमालले बताए ।
व्यावसायिक रुपमा सफल तथा स्थापित कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गराई सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने नीति पनि बोर्डले लिएको उनको भनाई छ ।
