अब सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने

२५ जेष्ठ २०७९, बुधबार ०९:३२

अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्र सेवा चितवनको भरतपुर महानगरपालिकामा सुरू भएको छ । महानगरकी मेयर रेनु दाहालले मंगलबार आयोजित एक कार्यक्रममा यी सेवाको उद्घाटन गरिकी छन् ।

अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने भएको छ ।

‘हरेक वडामा डिजिटल प्रविधिबाट काम गर्ने तयारीस्वरूप यो सेवा सुरु गरिएको हो,’ दाहालले भनिन्, ‘डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको छ ।’ पहिलो चरणमा महानगरबाट कागजरहित सेवा उपलब्ध गराउन यो प्रणालीको सुरुवात गरिएको उनको भनाइ छ ।

स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको उनले जानकारी दिइन् । महानगर उपप्रमुख चित्रसेन अधिकारीले अनलाइन प्रणालीमार्फत् सेवा लिन सबैलाई आग्रह गरे । उनले भने, ‘अनलाइन प्रणाली सुरु भएसँगै भ्रष्टाचारसमेत कम हुनेछ ।’ जनताले सेवासुविधा चुस्त रूपमा पाउन सक्ने उनको भनाइ छ ।

साथै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले दर्ता चलानीलाई व्यवस्थित गर्न वैज्ञानिक प्रक्रियाबाट काम शुरू गरिएको उल्लेख गर्दै डिजिटल बडापत्रमा नागरिकले पाउने सूचनाहरू लिन सहज हुने बताए ।

गठबन्धनबाट मेयरको उम्मेदवार रेनु दाहाल, एमालेका विजय सुवेदी र विवेकशील साझा पार्टीका प्रवीन काफ्लेले आफ्नो प्रतिबद्धता पत्रमा महानगरपालिकाका सेवाहरूलाई डिजिटल बनाउने र सेवाग्राहीलाई सरकारी कामबाट खुसी बनाउने उल्लेख गरेका थिए।