काठमाडौंको फोहोरको विषयमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले सदनमा आएर जानकारी गराउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले आजको प्रतिनिधि सभाको बैठकमा काठमाडौंको फोहोरको विषयमा मन्त्री झाँक्रीलाई कांग्रेसका महामन्त्री थापाले सदनमा आएर जानकारी गराउन आग्रह गरेका हुन् ।महामन्त्री थापाले भने, काठमाडौं र वरपरको सडक फोहोरले पुरिन लागेको छ । यसको व्यवस्थापनको मूल जिम्मेवारी काननुनत शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका हो । यो दुवै ठाउँमा नयाँ नेतृत्व आएको छ । त्यो अहिलेको नेतृत्वको कारणले गर्दा यस्तो भएको हो । कदाचित होइन । यो भन्दा अगाडि यी ठाँउहरु को नेतृत्व गर्नेले उपयुक्त कामहरू नगर्दिएकाले अहिले समस्याको चाङ लागेको छ ।
काठमाडौं महानगर,शहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका,धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएको थियो तर स्थानीले फेरी अवरोध गरेका छन् । थापाले भने,शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका दुवैले प्रशंसनीय काम गर्नुभएको छ । यसकै परिणाम हिजो मात्रै एउटा सहमति भएको छ । फोहोर उठ्न थाल्यो भनी सुखद समाचार पायौ । तर आज बिहानबाट फोहोर लाने काम बन्द भएको छ । केही ठाउँमा बल प्रयोग भएको छ ।
शहरी विकास मन्त्री झाँक्रीलाई सदनमा आएर जानकारी गराउन आग्रह गर्दै थापाले भने,सम्माननीय सभामुख मार्फत माननीय शहरी विकास मन्त्रीलाई यहाँ आएर सदनलाई जानकारी गराउन आग्रह गर्न चाहन्छु । के गर्यौ भनेर सवाल जवाफ गर्नका लागि होइन । समस्या कहाँ नेर पर्यो ? त्यो गाँठो फुकाउने कुरामा हामी मद्दत गर्न चाहन्छौ । यो सदनको सदस्यको रूपमा काठमाडौं सांसदको रूपमा मद्दत गर्ने हाम्रो कर्तव्य पनि हो ।
स्थानीय बासिन्दाले आफूहरूसँग सहमति नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् । थापाले केही अरब पैसा छुटाए फोहरको दीर्घकालीन हल निस्कने बताए । उनले भने,फोहरको व्यवस्थापनका लागि शहरी विकासको पैसाले पुग्दैन । बञ्चरेडाँडा र सिसिडोलमा हामीले गरेका बाचा र प्रतिज्ञा पुरा गर्न अरबौ रुपैयाँ चाहिन्छ । यो वर्षको बजेट बाट केही अरब पैसा छुटाउने हो भने फोहरको दीर्घकालीन हल निस्कन्छ ।
यस्तै काठमाडौंबाट फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा फोहोर बोकेको टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
