नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।
गठबन्धनले तत्काल मन्त्री हेरफेर गर्ने निर्णयलाई कार्यान्वयन गर्न नसकिने बताएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको पार्टीभित्रै आलोचना हो।
मन्त्री हेरफेर गर्ने विषयमा आइतबार पार्टी सचिवालयले गरेको निर्णयलाई अध्यक्ष नेपाल तत्काल सार्वजनिक नगर्ने पक्षमा थिए। उनले गठबन्धनका दलहरूसँग परामर्श नभएकाले मन्त्री हेरफेर गर्ने बारेमा भएको निर्णय प्रधानमन्त्रीसँगको परामर्शपछि मात्र सार्वजनिक गर्न चाहेका थिए। तर सो पार्टीका सम्मानित नेता झलनाथ खनालले बैठकबाट निस्कँदै गर्दा पत्रकारहरूसँग मन्त्री हेरफेरको निर्णय सार्वजनिक गरेका थिए।
खनालले सूचना चुहाएपछि अध्यक्ष नेपालले पनि ‘यो नियमित प्रक्रिया भएको’ भन्दै मन्त्री नियुक्ति गर्दा नै ‘६ महिनाका लागि’ भनिएको प्रष्टीकरण दिन थालेका छन्। पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका केही मन्त्री भने आफ्नो कार्यकालको समीक्षा गर्न थालेका छन् ।
बजेटका विषयमा मन्त्रालयको छलफल जारी रहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेरबदल गर्न नसकिने भन्दै नेपाललाई केही दिन कुर्न आग्रह गरेका छन् । गठबन्धनका अन्य दलले पनि मन्त्री हेरफेरमा हतार नगर्न आग्रह गरेपछि माधव नेपाल आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका छन् ।
