काठमाडौँ महानगर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाए

२३ जेष्ठ २०७९, सोमबार १५:०५

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन्।

ल्यान्डफिल्ड साइटको अवरोधका कारण सडकमै फोहोर थुप्रिएको काठमाडौँ महानगर वडा नम्बर १६ का वडा अध्यक्ष रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका हुन्। महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन्। उनले फोहोर सङ्कलनको काम वडाको नभई महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको बताए।

अब केन्द्रले सकेन भनेर चुप बस्न सकिएन। मेरो वडाको फोहोर अब मै उठाउँछु,ु उनले भने। काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा बैठकको पद्धतिबारे प्रश्न उठाएपछि मेयर बालेन्द्र शाहका शुभेच्छुकहरूले शाहलाई काम गर्न अवरोध पुर्‍याउने प्रयास गरेको भनेर उनको विरोध गरेका थिए।

पछिल्लो समय वडाध्यक्षको टेबलमा बसेर टिकटक बनाएकोमा उनको आलोचना भइरहेको छ। उनले फोहोर उठाए पनि कहाँ ब्यवस्थापन गर्ने भन्ने खुलाएका छैनन्। नेपाली कांग्रेसबाट उम्मेदवार बनेका रिजाल दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् ।