नेकपा (माओवादी केन्द्र) लाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।
पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखहरु तथा अध्यक्ष र उपाध्यक्षहरु दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका उनीहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा गएका थिए ।
भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।
कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् ।
माओवादी केन्द्रले देशभर १ सय २१ स्थानीय तहका मेयररअध्यक्ष जितेको छ भने १ सय २६ स्थानीय तहमा उपमेयर र उपाध्यक्ष विजयी भएको थियो ।
पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखहरु तथा अध्यक्ष र उपाध्यक्षहरु दुई दिने अभिमुखीकरण कार्यक्रम बुधबार र विहीबार सञ्चालन भएको थियो ।
