सरकारले भारतलाई बिजुली बेच्न थाल्यो

१९ जेष्ठ २०७९, बिहीबार १३:४४

नेपालबाट भारत विद्युत् निर्यात हुन थालेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली भारत निर्यात हुन थालेको विद्युत् प्राधिकरणले बताएको छ।

भारतको विद्युत एक्सचेन्ज बजारमा निर्यात सुरु गरेको विद्युत् प्राधिकरणको प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए।

उनका अनुसार भारतको एक्सचेन्ज बजारमा हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुनेछ। यसअनुसार प्रतियुनिट अधिकतम १२ रुपैयाँ मूल्य कायम छ भने न्यूनतम साढे दुई रुपैयाँ पनि हुने गरेको हो।

अहिले भारतले २ सय मेगावाट विद्युत् नेपालबाट माग गरेको छ। नेपालले अहिले ३ सय ६४ मेगावाट विद्युत् बिक्री गर्न पाउने सम्झौता छ। तर बुधबारदेखि ३७ दशमलव २ मेगावाट विद्युत् निर्यात गर्न थालेको हो।