
भारतीय आयल निगमलाई १६ अर्ब रुपैयाँ बक्यौता बाँकी रहेको नेपाल आयल निगमले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै निगमले जुन महिनाको लागि पहिलो किस्ताबापत १६ अर्ब र बाँकी बक्यौता १६ अर्ब गरी कुल ३२ अर्ब रुपैयाँ जुन ८ तारिखमा तिर्नुपर्ने अवस्था रहेको जनाएको छ ।
यो आर्थिक वर्षको वैशाख मसान्तसम्म अर्थात १० महिनामा करिब ४७ अर्ब नोक्सानी भइसकेको जनाउँदै निगमले असार मसान्तसम्म यस्तो नोक्सानी ६० अर्ब पुग्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्ने र यही अवस्था रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाइराख्न इन्धनको मूल्य लागत सरह नै कायम गर्नुपर्ने निगमले जनाएको छ ।
पछिल्लो समय भारतबाट प्राप्त मूल्यसूचीअनुसार पाक्षिक नोक्सानी ३ अर्ब ७ करोड पुग्ने निगमको अनुमान छ । निगमका अनुसार पछिल्लो समय भारतबाट पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । निगमले भारतबाट आएको सूचीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
