एमालेका उपमहासचिवसमेत रहेका सांसद प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानीकर्तालाई हतोत्साही बनाइरहेको बताएका छन् ।
ज्ञवालीले भने, बिहीबारको प्रतिनिधिसभा बैठकमा “विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ, तर तपाईंका क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ ।” ज्ञवालीले पहिले एमसीसी परियोजना गिजोलिएको र अहिले बूढीगण्डकी जलविद्युत् आयोजनालाई गिजोलिरहेको आरोप लगाए ।
“हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी । पछि के देख्नुभो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभो कि के भयो ? कुरा त जहाँको त्यहीँ छ । पारित गर्नुभयो, धन्यवाद । आज फेरि त्यसैगरी बूढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ?,” ज्ञवालीले प्रश्न गरे ।बूढीगण्डकी पहिले चीनलाई दिने भनेर सम्झौता गरिएको र अहिले के नपाएर नदिने भनेको भन्दै प्रश्न समेत गरे । “हिजो के देखर चीनलाई दिने भन्यौँ ? आज के देखेनौँ, के पाएनौँ र नदिने भन्यौँ ?,” उनले प्रश्न गरे ।
सासंद ज्ञवालीले संसद्को रोष्ट्रमबाट नै सरकारलाई एमसीसी पारित गरेकोमा धन्यवाद पनि दिएका छन् ।
