केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको राष्ट्रिय सभा सदस्य डा.वेदुराम भुसालले दाबी गरेका छन् । जेठ १५ गते बुधवार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उनले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको स्पष्ट पारे । उनले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धन बिनाका कुनै एकल सरकार नरहेको बताए ।
उनले सरकारले प्रस्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको बताए । अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताउदैउनले भने, ‘यहाँ केही साथीहरु भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो ।’
उनले फेरि भने, ‘म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो ।’
राष्ट्रिय सभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरु खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनहरुमा महशुल बढाउने निर्णय बिरोधाभाष भएको उल्लेख गरे ।
उनले गत सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोप लगाए ।
यस्तै पछिल्लो समय तीन ठुला कम्युनिष्ट पार्टीभित्र वाम गठबन्धनबारे चर्चा चल्न थालेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलका केही पार्टीहरू असन्तुष्ट भएसँगै वाम एकताको आवाज उठेको हो ।
