काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष एवम् वडा सदस्यहरुले शपथग्रहण गरेका छन् ।
आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई शपथग्रहण गराएका हुन् ।
नेपाली भाषामा शपथग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए । नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद तथा गोपनियताको शपथग्रहण गरेकी छिन् ।
उपमेयर डंगोललाई मेयर साहले शपथग्रहण गराएका हुन् । उपमेयर डंगोलले भने नेपाल भाषामै शपथ लिएकी हुन् । मेयर साहले नेपाली भाषामा शपथग्रहण गराउँदा डंगोलले नेपाल भाषामा शपथ लिएकी हुन् ।
मेयर साहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
राष्ट्रिय सभागृहको शपथपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह स्वतन्त्रबाट उम्मेदवार बेनका थिए भने उपमेयर सुनिता डंगोल नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन् ।
