आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडान भरेको ९ एन एईटी जहाज बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।
उक्त सम्पर्कविहीन भएको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो ।
तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाको शव संकलन कार्य जारी छ । घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली पुगेको छ ।
घटनास्थलमा रहेका प्रहरीका अनुसार १२ जनाको शव संकलन भएको छ । शव पहिचान हुन सक्ने अवस्थामा छन् ।
घटनास्थलमा रहेका प्रहरीको भनाइ उदृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, “संकलन भएका शवहरू पहिचान हुने प्रकृतिका छन् । दुई शव जहाजले किचेको देखिन्छ । जहाजको ठूलो भाग भीरमा रहेकाले शव संकलनमा कठिनाइ छ । अरू शव पनि जहाजमुनि दबिएका हुनसक्छन् ।”
घटनास्थलमा सेनाको ठूलो हेलिकोप्टर अवतरण गर्न सकेको छैन । मौसम प्रतिकूलता भएकाले सर्च अपरेसनमा केही कठिनाइ भइरहेको छ ।
घटनास्थलमा मुचुल्का संकलन गर्ने टोली पनि पुग्न सकेको छैन । पैदलमार्गबाट सेना, प्रहरी र सशस्त्र प्रहरीको थप टोली घटनास्थलतर्फ गइरहेको छ ।
उक्त जहाजमा चालक दलका तीन जना सदस्य १३ जना नेपाली, ४ भारतीय नागरिक र २ जना विदेशी गरी जम्मा २२ जना सवार थिए ।
