पोखराबाट जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित तारा एयरको ९ एनएईटी विमान सम्पर्कविहीन भएको छ ।
पोखराबाट विहान ९ः ५५ बजे जोमसोमका लागि १९ यात्रु र ३ चालक दलका सदस्यसहित तारा एयरको ९ एनएईटी विमान सम्पर्कविहीन भएको हो ।
आइतबार बिहान बेपत्ता भएको तारा एअरको विमानको खोजीमा हवाईमार्गबाट जान असहज भएपछि नेपाली सेना र नेपाल प्रहरी स्थलमार्गबाट दुर्घटना भएको भनिएको स्थलमतर्फ गएको छ। नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सेना र प्रहरी स्थलमार्गबाट गएको जानकारी दिएको छ।
क्यानको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थलमार्गबाट खोजि कार्य गर्न नेपाली सेना र नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारी गराइन्छ।’
हालसम्म विमान दुर्घटना भएको भनिएको स्थान टिटीतर्फ स्थलमार्गबाट सेना र प्रहरी गएको क्यानले बताएको छ। प्रतिकूल मौसमका कारण खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङ फर्किएको छ।
यस्तै, खोजीका लागि अन्य हेलिकप्टर तयारी अवस्थामा रहे पनि मौसम खराबीका कारण उडान हुन सकेको छैन। मौसममा सुधार आउनेबित्तिकै हेलिकोप्टर पठाइने प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज पत्ता लगाउन नसकेको बताइएको छ । उक्त सम्पर्कबिहिन भएको जहाजमा तीन जना चालक दलसहित १९ जना यात्रु सवार थिए ।
