राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको छ: ओली

१५ जेष्ठ २०७९, आईतवार ०९:२६

एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन्।

मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाहरुप्रतिको जनताको आस्थामा समेत चोट पुर्‍याएको ओलीको भनाइ छ।
आइतबार १५औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या र अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’

जसका कारण मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्पविराम लागेका र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको ओलीको भनाइ छ।

गत आम निर्वाचनबाट बनेको नेकपा (एमाले)को सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको उनको दाबी छ।

आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई हामीले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएका थियौं। नेकपा (एमाले्र)रको सरकारका ऐतिहासिक प्रयासले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रिय स्वाभिमानको रक्षा र प्रवर्द्धन भएको थियो भने राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरेका थियौँ ओलीले भनेका छन्।