एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग सहकार्य हुन सक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै शनिवार संसद बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओली अझै पनि दम्भ र अहंकारबाट पछि नहटेको बताएका हुन् ।
केपी ओलीकै व्यवहारका कारण वामपन्थी पार्टीहरू मिलेर काम गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । तर, एमाले अध्यक्ष ओलीबाहेक अन्य नेता कार्यकर्तासँग भने सहकार्य हुन सक्ने प्रचण्डले बताए ।
‘नेकपा एमालेका धेरै कार्यकर्ताप्रति मलाई भरोसा र विश्वास छ । तर, यति धेरै दम्भ र अहंकार नहुने हो भने वामपन्थी सहकार्यको वातावरण बन्न सक्छ,’ प्रचण्डले भने ।
ओलीले संसदमा गत विहीबार सम्बोधन गर्दा प्रयोग गरेको शब्दहरुबाट आफू चिन्तित भएको प्रचण्डले बताए । ओलीकै कारण एमालेसँग सहकार्य हुन सक्ने अवस्था नरहेको पनि प्रचण्डले बताएका छन् ।
‘सरकार ढल्यो, उहाँ बालुवाटारबाट बालकोट पुग्नुभयो । सातै प्रदेशको सरकार पनि ढल्यो, राष्ट्रिय सभाको निर्वाचनमा उहाँहरुले जे बेहोर्नुभयो । बार एशोसिएशनको चुनाव भयो । यी सबैबाट रिअलाइजेसन भयो होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचनपछि त आत्मसमीक्षा गर्नुभयो होला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘वामपन्थी एकताको पक्षमा वातावरण बनाउने पक्षमा कुरा गर्नुहुन्छ कि भन्ने लागेको थियो । पुनःसमीक्षा गर्नेतिर जानुहुन्छ भन्ने लागेको थियो । तर, बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको छैन ।’
तत्कालीन नेकपाको बहुमत रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘आज यो परिस्थिति कसले बनायो ? यसको जिम्मेवारी लिने को ?’ नेकपामा विवाद भएपछि आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री छाड्दा पनि संसद् विघटन र पार्टी विभाजन रोक्न नसकिएको उनले बताए ।
एमालेको पराजयमा पार्टीभित्रको गम्भीर अन्तर्घात रहेको टिप्पणी ओलीले गरेको र त्यसको गहिरो विश्लेषण हुने अपेक्षा पनि गरेको प्रचण्डले बताएका छन् ।
त्यसबाहेक ओलीले संसद्मा गरेको तीन घण्टा लामो सम्बोधनमा कतै ओलीको रिअलाइजेसन र वामपन्थी एकताको कुरा आउँछ कि भनेर पूरै सम्बोधन ध्यानपूर्वक सुनेको प्रचण्डले बताएका थिए ।
‘पुनःसमीक्षा गर्ने कुरामा जानुहुन्छ कि भनेको त उहाँ त शुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो,’ उनले भने ।
आफ्नो दृष्टिमा ओलीले झुटको पुलिन्दा मात्रै संसदमा प्रस्तुत गरेको प्रचण्डले बताए ।
यस्तै स्थानीय तहको निर्वाचनमा पराजय भएपछि सर्लाहीको हरिवन नगरपालिका १ र २ का २१ जना एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्। एमालेको तर्फबाट हरिवन १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन्। क्याप्छाकी र महतो निवर्तमान वडाध्यक्षसमेत हुन्।
