काठमाडौं महानगरको मेयरमा बालेन साहलाई जिताएर जनताले परिवर्तनको सन्देश दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले भने, “बालेन साहको जित जनताले खोजेको परिवर्तनको सङ्केत हो। काठमाडौंवासी र बालेन साहलाई बधाई दिन चाहन्छु।” यस्तै स्थानीय चुनावमा कैलालीका जनताले नागरिक उन्मुक्ति पार्टीलाई मतदान गरेर रेशम चौधरी अपराधी होइनन् भन्ने सन्देश दिएको महतोको भनाइ थियो। परिवर्तनका पक्षमा लडेका चौधरीलाई अन्यायपूर्ण रूपमा जेलमा राखिएको उनको दाबी छ।
स्थानीय चुनावमा भएको गठबन्धनतर्फ लक्षित गर्दै महतोले भने, “आफ्नै पार्टीलाई भोट नदिनुस् भनेर कसरी लोकतन्त्र बलियो हुन्छ ?”
यस्तै एमाले अध्यक्ष केपी ओलीले बिहीबार बसेको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेरअभिव्यक्ति दिएका थिए ।
