धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालले नागरिकसँग भेटघाट गर्न लागि बिहानको समय छुट्याएका छन् ।
उनले कार्यालय समयमा व्यस्त भएकाले नागरिकसँग भेटघाट गर्नका लागि बिहानको समय छुट्याएका हुन् । उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ बजेदेखि बिहान १० बजे सम्मलाई छुट्याइएको छ।’ त्यस्तै, उनले उद्घाटन तथा स्वागत सम्मानजस्ता काममा आफूलाई नअल्झाउन पनि आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’
व्यवसायी र उद्योगीको पृष्ठभूमि भएका गोपाल हमाल सुन्दर सुदूरपश्चिमका अभियन्ता समेत हुन्। मुलुक संघीयतामा गएपछि भएको पहिलो स्थानीय तह को निर्वाचनमा हमालले यही उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचन लडेका थिए।
