महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालू आर्थिक वर्षमा समाज कल्याण परिषदले ७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरिसकेको बताएकी छिन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले आफ्नो पदबहालीपछि समाज कल्याण परिषदमा विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताइन्।
‘कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनुहुन्न’, मन्त्री रेग्मीले भनिन्, ‘यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौँ।
उनले समाज कल्याण परिषदलाई पारदर्शी र जनमुखी बनाउन पूर्ण रूपमा डिजिटलाइज गरिने समेत बताइन्।
‘परिषदमा अनावश्यक रूपमा फाइल रोकिने गरेको गुनासो छ, अब कुनै बार्गेनिङ चल्दैन’, उनले थपिन्, ‘यसलाई अन्त्य गर्न समाज कल्याणको पूरै सिस्टम प्रविधिमैत्री बन्नेछ।’
उनले समाज कल्याणलाई प्रविधिमैत्री बनाउन सरकारी र गैर सरकारी संस्थाहरूलाई सहयोगको आह्वान समेत गरिन्।
कार्यक्रममा मन्त्री रेग्मीले एनजीओले सीप तथा आयमूलक कार्यक्रम हरू आयोजना गरेर महिलाहरूलाई उत्प्रेरित गराउनुपर्ने बताइन्।
उनले विशेष गरी महिलालाई उद्यमी बनाउन देशैभरि उद्यमशीलता सम्बन्धी तालिम आवश्यक रहेको बताइन्।
मन्त्री रेग्मीले महिलाहरूलाई उद्यमी बनाउन आगामी बजेटमा विशेष कार्यक्रम मार्फत बजेट विनियोजन गरिएको समेत बताइन्।
