तुलसीपुर उपमहानगरमा एमाले उम्मेदवारको जित नजिक

११ जेष्ठ २०७९, बुधबार ०८:३६

तुलसीपुर उपमहानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । दाङ तुलसीपुर उपमहानगरमा जम्मा ७४ हजार तीन सय ३६ मत खसेको थियो ।

७४ हजार तीन सय ३६ मत खसेमा बुधबार विहान ७ बजेसम्म ७१ हजार एक ६६ मत गणना भइसकेको छ भने अब तीन हजार एक सय ७० मत गन्न बाँकी छ । अहिलेसम्मको मतपरिणाम अनुसार नगर प्रमुखमा एमालेका टिकाराम खड्का ३३ हजार ६६ मतले अघि छन् ।

उनले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार काग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमाले सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार दुई सय एक मतान्तरले पछि पारेकी छिन् । चौधरीले २९ हजार तीन सय ४५ मत प्राप्त गरेकी छिन्, भने रानाले २० हजार एक सय ४४ मत प्राप्त गरेका छन् ।

१९ वटा वडामध्ये अहिलेसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म तुलसीपुरका ९ वटा वडा एमालेले जितेको छ, भने कांग्रेसले ४ र माओवादी केन्द्रले ३ वटा वडा जितेको छ । त्यस्तै एउटा वडा स्वतन्त्रले जितेको छ ।

अहिले वडा नम्बर १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमाले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ मत खसेको थियो ।

यस्तै भरपुर महानगरमा गठबन्धनबाट माओवादीकी रेणु दाहाल विजयी भइकी छिन् भने धरान उपमहानगरमा स्वतन्त्रबाट हर्क सम्पाङ राई विजयी भएका छन् ।