समग्र पुँजी बजारको सुधारका लागि सेबोनले सरकारलाई दियो १२ बुँदे सुझाब !

८ जेष्ठ २०७९, आईतवार ०७:४१

समग्र पुँजी बजारको विकास तथा विस्तारका लागि सेबोनले १२ बुँदे सुझाब दिएको छ । जसमा नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ) मा आरक्षण, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङको पुँजी वृद्धिसहित संरचनात्मक परिवर्तन लगायत छन् ।

नेपालमा धितोपत्रको प्राथमिक बजार सेवा देशव्यापी भए तापनि दोस्रो बजार कारोबार तथा राफसाफ प्रणाली हालसम्म पूर्ण रूपमा स्वचालित हुन नसकेको बोर्डले स्वीकार गरेको छ । यसकारण पुँजी बजार विकासको लागि धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिष्पर्धी बनाउन आवश्यक देखिएको बोर्डको तर्क छ ।
‘धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट व्यवस्थालाई थप प्रभावकारी बनाउन राफसाफ सुनिश्चितता कोषको सुदृढ व्यवस्था गरी संचालनमा ल्याउने,’ बोर्डले भनेको छ, ‘लगानीकर्तालाई लगानी विविधिकरण तथा जोखिम व्यवस्थापनमा सघाउ पुर्‍याउनका लागि नयाँ धितोपत्र औजारहरूको व्यवस्था गर्न आवश्यक देखिएको छ ।’ नयाँ स्टक एक्सचेञ्जबारे भने बोर्ड मौन बसेको छ ।

पुँजी बजारको विकास तथा विस्तारका लागि बोर्डले दिएका १२ बुँदे सुझाब यस प्रकार छन् :

-नेप्से र सीडीएसको पुँजी वृद्धि, संरचनात्मक सुधार
-वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण ।
-साना तथा मझौला कम्पनीको कारोबारका लागि एसएमईज् प्ल्याटर्फम ।
-पुँजीगत लाभकरमा घटाउने ।
-विशिष्टीकृत लगानी कोषको आर्जित आयमाकर नलाग्ने ।
-धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी अध्ययन तथा प्रशिक्षण संस्था स्थापना ।
-वस्तु विनिमय बजार संचालन ।
-ऋणपत्र बजारको विकास ।
-प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटल संचालन ।
-प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन ।
-धितोपत्र बोर्डलाई कर छुट हुने निकायको रूपमा परिभाषित ।
-एक अर्ब पुँजी वा ५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी सूचीकृत हुनुपर्ने ।