एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए ।
ओलीले चुनावी सभामा भाषण गरेका सबै ठाउँमा एमालेले निर्वाचन हारेको छ। ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो सहरमा चुनावी सभामा पुगेका थिए । तर, उनी गएका सहरमा एमालेले कतै पनि चुनाव जितेको छैन ।
पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार कांग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यसपटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै कांग्रेस पहिलो दल बन्न सफल भएको छ ।
सात सय ५३ मध्ये कांग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यसपटक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबीच तालमेल भएको थियो । जसले कांग्रेसलाई धेरै फाइदा पुग्न गयो ।
भलै कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका केही स्थानीय तह गुमाए पनि अघिल्लो एमालेले जितेका स्थानीय तहको रेकर्डलाई कांग्रेसले यसपटक ब्रेक गरेको छ ।
कांग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले कांग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।
यस्तै भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
