एमालेका नेता दाहालले वडाध्यक्ष पदमा पराजित भएपछि किन नगर इन्चार्ज पदबाट राजीनामा दिए ?

६ जेष्ठ २०७९, शुक्रबार १५:२८

नेकपा एमालेका नेता रुद्र दाहालले वडाध्यक्ष पदमा पराजित भएपछि नगर इन्चार्ज पदबाट राजीनामा दिएका छन्।

नेकपा एमालेका रुद्र दाहालले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ३ को वडाध्यक्ष पदमा पराजित भएपछि नगर इन्चार्ज पदबाट राजीनामा दिएका हुन्।

उनी कांग्रेसका उम्मेदवारसँग वडाध्यक्षमा पराजित भएका थिए। आफूले पार्टीलाई जिताउन नसकेकाले पदमा रहन नमिल्ने भन्दै उनले राजीनामा दिएका हुन्।

उनले सो राजीनामा पत्र एमाले सुनसरी अध्यक्ष रेवती भण्डारीलाई बुझाएका छन्। उनी यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

पार्टीलाई पहिलो स्थान दिलाउन नसकेको कारण नेकपा एमालेको निति, सिद्धान्त र अनुशासनलाई शिरोधार्य गर्दे नैतिकताको आधारमा नगर इन्चार्ज पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।