ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि

६ जेष्ठ २०७९, शुक्रबार ०८:०६

काठमाण्डौका ११ वटा पालिकामध्ये ८ वटा पालिकाको मतपरिणाम सार्वजनिक तीन वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

काठमाण्डौ महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका र नागार्जुन नगरपालिकाको मत गणना कार्य निरन्तर चलिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन। उनका अनुसार पालिकामा रहेको ९ वटा वडामा अहिले वडा नम्बर ५ को मतगणना भरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र कार्की १० हजार ४ सय ६७ मतसहित अगाडि छन् । उपमेयरमा भने नेकपा एमालेकी शान्ता थापा ९ हजार दुई सय ९६ मतसहित अग्रस्थानमा छिन्।

नागार्जुन नगरपालिकाको भने वडानम्बर ५ र ६ को मतगणना गर्न बाँकी छ । ताजा मतपरिणाम अनुसार नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत ७ हजार ७ सय २२ मतसहित अग्रस्थानमा छन् । उपमेयरमा भने एमालेकी शुशीला अधिकारी ७ हजार ७७ मत प्राप्त गरेर अगाडि छिन् ।

यस्तै, ६ वटा पालिका रहेको ललितपुरमा दुई वटा पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको मत गणनाको अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाको वडानम्बर ५, ६, ७ को मतगणनाको अन्तिम नतिजा आउन बाँकी छ । ताजा मतपरिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरमा एमाले अगाडि छ । मेयरमा एमालेका हरि गोविन्द श्रेष्ठ ६ हजार ६ सय ८६ मतसहित अगाडि छन् भने उपमेयरमा पनि एमालेकै विणा सुवेदी ६ हजार ८ सय मत प्राप्त गरेर अग्रस्थानमा छिन्।