एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठक संसद भवनमा ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गरेका हुन् ।
उनले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताए । उनले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गरे ।
उनले भने, ‘हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिन बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत एमालेले करिब–करिब ४८ सालको निर्वाचन देखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ ।’
उनले कतै कतै पार्टीको आन्तरिक कारणहरूले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गर्ने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए । उनले नेकपा (एकीकृत समाजवादी) लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गरे ।
यस्तै नेकपा एमालेका सांसद भिम रावलले संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तह निर्वाचनमा एमालेको विभाजन भएको कारण पनि हार भएको बताएका छन् ।
