जनतासँग एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट माग्ने आधार नरहेको कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।
भोट माग्नुअघि कम्युनिष्ट पार्टीहरूले यतिका समय खेर फालेकोमा जनतासँग माफी माग्नुपर्ने प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले बताएका हुन्।
‘कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफि माग्नुपर्ने हुन्छ,’ उनले भने, ‘जनताले देश विकासका लागि जिताएर पठाएको भए पनि ५ वर्षको समय र अवसर उहाँहरूले खेर फालेकोले जनतासमक्ष क्षमायाचना माग्नुपर्छ।’
अबको पाँच वर्ष जनताले कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने थापाले बताए। यस्तै बिहीबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ। तर उम्मेदवारविरूद्ध असहयोग गरेमा कारबाही गरिने चेतावनी पनि दिएको छ ।
