कांग्रेसले उम्मेदवारविरूद्ध असहयोग गरेमा किन यस्तो कारबाही गर्दै छ ?

२३ बैशाख २०७९, शुक्रबार १२:२३

स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेहरुलाई कांग्रेसले तत्कालै निलम्बन गरी कारबाही गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन दिए अनुसार पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा सदस्यता निलम्बन गर्न भएको हो।

बिहीबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ। तर उम्मेदवारविरूद्ध असहयोग गरेमा कारबाही गरिने चेतावनी पनि दिएको छ ।

‘पार्टी विधानको धारा ३४ (४) (ख) र (ग) बमोजिम पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने, पार्टीका उम्मेदवार र पार्टी हितविपरित कार्य गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको रायसमेत लिई जिल्ला अनुशासन समितिले निर्वाचन अवधीभर तत्काल सदस्यताबाट निलम्वन गर्न सक्छ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले सबैलाई पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन आग्रह गर्दै बागी, प्रस्तावक र समर्थकको विवरण केन्द्रमा पठाउन निर्देशन पनि कांग्रेसले दिएको छ।