कांग्रेस र एमालेका कार्यकर्ताबीच गएराति नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा झडप भएको छ। उक्त झडपमा ६ जना घाइते भएका छन्।
एमाले कार्यकर्ताले गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे र उनी चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियोमा आक्रमण गरेको कांग्रेस जिल्ला उपभापति बालकृष्ण घिमिरेले बताए।
एमाले हुप्सेकोट गाउँपालिका उमेदवार चेतन रानाले निर्वाचन बिथोल्न कांग्रेसले झुटो प्रचार गरेको भन्दै चुनावी प्रचारबाट एक्लै घर फर्कदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति झडप भएको बताए।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको बताए।
आक्रमणमा परी कांग्रेसका कार्यकता प्रिन्स मल्ल, जीवन मल्ललगायत घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन्। मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरुको थप उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ। साभार: नेपाल खबरबाट
