१०० भन्दा ठूला दरको भारु नोट चल्ने व्यवस्था गर्न निजी क्षेत्रले सरकारसँग माग राखेको छ । सरकारलाई आगामी आर्थिक वर्षको बजेटमा सुझाव दिँदै नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा २००, ५०० र २००० भारतीय रुपैयाँको नोट चल्ने व्यवस्था गर्न माग गरेको छ ।
नेपालमा भारतीय मुद्रा बोकेर ठूलो संख्यामा भारतीय पर्यटक आउने गरेपनि १०० बाहेक नोट नचल्ने गरेकाले उनीहरुको खर्चमा लगाम लाग्दै आएको छ ।
ठूला दरको भारु चलाउनुपर्ने माग सीमाका होटल व्यवसायीले पनि गर्दै आएकामा महासंघले पनि २००, ५०० रु २००० दरको भारु चलाउनुपर्ने माग गरेको हो । यसरी भारु चल्दा विदेशी मुद्रा सञ्चिति पनि बलियो बन्न सहयोग पर्याउने महासंघका कर तथा राजस्व समिति सभापति सन्दिप कुमार अग्रवालको ठहर छ । महासंघले अर्थमन्त्री जनार्दशन शर्मा सामु यस्तो माग गरेको हो ।
महासंघले यसअघि पनि सुझाव संकलन गर्ने क्रममा ठूला दरका भारू चलाउनु पर्ने एजेन्डा उठाएको थियो । अन्तर्क्रियामा महासंघले छिमेकी मुलुक भारतबाट वैवाहिक समारोहमा आउँदा बेहोर्नुपर्ने झमेला अन्त्य गर्न माग गरेको छ भने उनीहरूले २ लाख रूपैयाँ भारूसम्म बोक्न पाउनुपर्ने माग गरेको छ ।
नेपालमा १०० भन्दा ठूलो दरको भारतीय नोट बोक्नु अवैध ठहर्छ । अहिले नेपालमा हुने विवाहमा भारतबाट आउँदा सुनका कारण भारतीय नागरिकले बिमानस्थलमा झमेला बेहोर्दै आएका छन् ।
