एमाले र माओवादी केन्द्रबीच सिन्धुपाल्चोकमा चुनावी तालमेल, उपाध्यक्ष नपाएपछि पार्टी नै परित्याग

१९ बैशाख २०७९, सोमबार ०८:२१

एमाले र माओवादी केन्द्रबीच सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा चुनावी तालमेल भएको छ।

एमालेले अध्यक्ष लिने र माओवादीलाई उपाध्यक्ष दिने गरी चुनावी तालमेल भएपछि एमालेभित्र विरोध भएको छ।
एमाले र माओवादीका तर्फबाट अध्यक्ष र उपाध्यक्षमा भिन्नाभिन्नै उम्मेदवारी दर्ता भइसकेपछि चुनावी तालमेल भएको थियो।

माओवादीलाई उपाध्यक्ष दिने गरी तालमेल गरिएपछि एमालेबाट गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेकी मञ्जु नेपाल भण्डारीले पार्टी नै परित्याग गरेकी छन्।

यहाँ एमालेबाट टपिन्द्रप्रसाद तिमिल्सिना र उपाध्यक्षमा भण्डारीले उम्मेदवारी दिएका थिए। तर पार्टीले भण्डारीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो।

यस्तै माओवादीबाट अध्यक्षमा कृष्णकुमारी कुँवर र उपाध्यक्षमा दुर्गा थापाले उम्मेदवारी दर्ता गरेका थिए। एमालेसँग चुनावी तालमेलपछि माओवादीबाट अध्यक्ष उठेकी कुँवरले उम्मेदवारी फिर्ता लिएकी छन्।

‘२४ वर्ष मेहनत गरेको पार्टी एमालेको सबै जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको छु,’ भण्डारीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘मेरो सल्लाह र सहमतिबेगर उम्मदेवारी खारेज भएको छ। गठबन्धनको तानाबाना बुनेर मलाई अन्यायमा पारिएको छ।’

विभिन्न जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । यसअघि गठबन्धनमा आबद्ध दल बाहेक नेकपा एमालेसंग चुनावी तालमेल गर्न नपाइने सहमति भएको थियो ।