आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बताएका छन् ।
उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बताए ।
उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भने ।
काठमाडौं देशभरका वासिन्दा बस्ने ठाउँ भएको भन्दै उनले काठमाडौंमा आउनेहरु सबैलाई समान व्यवहार गर्ने र रोजगारीको व्यवस्था गर्ने बताए । मेयर निर्वाचित भएमा एक दिन मात्र खुशी मनाउने भन्दै स्थापितले त्यसपछि लगातार काम गर्ने बताए । उनले आफू निर्वाचित भएमा नेपाली कांग्रेससँग पनि आफूले गर्नुपर्ने कामको सूचि माग गर्ने र सबै माग पूरा गरिदिने जिकिर गरे ।
केशव स्थापित काठमाडौँ महानगरपालिका का पूर्व नगर प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमाले का तर्फबाट उम्मेदवार बनेका स्थापितले ूमेरो पौरख, मेरो गौरव, मेरो काठमाडौूँ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर(टहराहरू भत्काइएका थिए।
