आगामी स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारीलाई तत्काल फिर्ता गराउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले निर्देशन दिएको छ।
गठबन्धनका आधिकारिक उम्मेदवारको विरुद्धमा गठबन्धनमा रहेका दलहरुका व्यक्तिले हालेको बागी उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज बिहान बसेको बैठकले निर्देशन दिएको हो।
बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेको छ।
बैठकले पाँच दलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने पनि निर्णय गरेको छ।
यस्तै, बैठकले पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने तथा गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने पनि निर्णय गरेको छ।
पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । उक्त बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित थिए ।
