
प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान पाँच दलिय सत्ता गठबन्धनको बैठक बसेको छ। बैठकमा मुख्य रुपमा बागी उम्मेदवारीका विषयमा छलफल भएको हो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशका कतिपय स्थानमा गठबन्धन गरेर गएका पाँच दलले बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरिरहेका हुन्।
राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए अनुसार बालुवाटारमा बसेको बैठकमा बागी उम्मेदवारी फिर्ता गराउने लगायतको बारेमा छलफल भएको छ । उम्मेदवारी फिर्ताको समय आज साँझ पाँच बजे सकिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। साँझसम्म गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गराउनका लागि छलफल भएको हो।
स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ। वैशाख ११ र १२ गते देशैभर मनोनयन दर्ता भएको थियो। सो क्रममा भरतपुर महानगरपालिका, पोखरा महानगरपालिका सहित विभिन्न उपमहानगर, नगरपालिका र गाउँपालिकामा गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ। बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसले पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।
