टिकट वितरणमा पारदर्शी नहुँदा नेताहरु पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेका छन् : कोइराला

१४ बैशाख २०७९, बुधबार १०:५०

टिकट वितरणमा आर्थिक चलख‍ेल भएको कांग्रेसका नेता शेखर कोइरालाले आरोप लगाएका छन्।

नेता कोइरालाले सार्वजनिक रुपमै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको भन्दै आपत्ति जनाएका हुन्। केही नेता कार्यकर्ताप्रति टिकट वितरणमा मापदण्ड नबनाउदा अन्याय भएको उनले आरोप लगाए। स्थानीय तहको निर्वाचनमा टिकट वितरण सहज नभएको र कांग्रेस देशको एकमात्र सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी भएको उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, टिकट वितरणमा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने थियो। तर, हाम्रो कुरा सुनिएन।

टिकट वितरणमा मापदण्ड नबनाई अगाडि बढ्दा र पारदर्शी नहुँदा जीवनभर कांग्रेसको सिद्धान्त र आदर्श अंगिकार गरेका कांग्रेसका मान्छेहरु पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेको पनि बताए ।