स्थानीय तह चुनावका लागि कांग्रेसले ल्याएको घोषणा पत्रप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटा टिप्पणी गरेका छन् ।
ओलीले कांग्रेसको घोषणापत्रलाई आज मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् । ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’
घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको ओलीले दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’
कांग्रेसकोे घोषणा पत्रमा धेरै ठाउँमा ओलीको नाम किटेरै तथानाम गाली गरेकाले कांग्रेसको घोेषणा पत्र नभएर ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।
