२७ ओटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन ।
बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरण अनुसार समग्रमा नाफा गत आर्थिक वर्षको समीक्षा अवधिभन्दा थोरै मात्र बढेको छ ।
चालु आवको ९ महिनामा वाणिज्य बैंकहरुले कूल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपियाँ नाफा कमाएका छन । गत आवको समीक्षा अवधिमा ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ कमाएका थिए ।
वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ३ अर्ब ७२ करोड रुपियाँ नाफा कमाएको छ । त्यस्तै एनआईसी एशियाले ३ अर्ब ६० करोड र नबिल बैंकले ३ अर्ब ३५ करोड नाफा कमाएका छन ।
सबैभन्दा कम नाफा लक्ष्मी बैंकले ८५ करोड ८९ लाख नाफा कमाएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी प्रतिशत अर्थात सेञ्चुरी कमर्सियल बैंकले १८३।५९ प्रतिशत नाफा बढाएको छ । त्यस्तै सबैभन्दा कम एभरेष्ट बैंक ०.५९ प्रतिशत मात्र नाफा बढाएको छ ।
समीक्षा अवधिमा १२ वाणिज्य बैंकहरुको नाफा घटेको छ । नाफा घटेका वाणिज्य बैंकहरुमा कुमारी, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नबिल, नेपाल इन्भेष्टमेण्ट बैंक, सानिमा, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक र लक्ष्मी बैक हुन ।
यी बैंकहरुको नाफा गत आवको समीक्षा अवधि भन्दा चालु आवको समीक्षा अवधिमा क्रमशः ०.३२, ३.०७, ३.३९, ८.०९, ८.९१, १२.९९, १४.२०, १६.९१, १९.९८, २५.५३, ३२.३८ र ३३.३१ प्रतिशतले घटेको छ ।
