नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा परेका छन् । आफूले हटाउन खोजेका गभर्नर स्वीकारेर समन्वयमा काम गर्ने वा पदबाट राजीनामा दिनेमध्ये एक विकल्प उनले रोज्नुपर्ने छ ।
गभर्नर प्रकरण अगाडिदेखि नै अर्थमन्त्री शर्मा राजीनामाको दबाबमा थिए । अर्थतन्त्र धराशायी बनेका बेला मन्त्रालयलाई सबल नेतृत्व प्रदान गर्न नसकेको भनेर उनको आलोचना हुँदै आएको छ । त्यसमाथि उनी विभिन्न विवादहरूमा पनि मुछिएका छन् ।
सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै गभर्नरलाई काममा फर्किने बाटो खोलिदिएको छ र, कार्यालय समेत जान थालिसकेका छन उनी । सरकारभित्रकै दलहरूबाट अर्थमन्त्री शर्माले गभर्नर निलम्बन गरेको विषयमा चर्को विरोध भएको थियो । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै अर्थमन्त्रीले गलत काम गरेको भनिरहेका छन् ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।
महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् ।
‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’
आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए । सर्वोच्चको निर्ण आउँदा आचार्य रक्षामन्त्री थिए । शर्माले नजिर देखाउँदै सामाजिक सञ्जालमार्फत त्यही संकेत गरेका हुन् ।
नेपाली कांग्रेसका पूर्वअर्थमन्त्री रामशरण महत अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर गलत गरेको बताउँछन् ।
उनले भने, ‘कानूनी रुपमा गभर्नरलाई हटाउने आधार नै थिएन । बिना कारण गभर्नरलाई निलम्बन गरिएको थियो । अदालतले उनलाई फर्काउनु स्वाभाविक हो ।’
पूर्वअर्थमन्त्री महेश आचार्यले निलम्बनमा परेका गभर्नर पुनर्बहाली भएपछि आफूले अर्थमन्त्रीबाट राजीनामा दिएको सम्झिए ।
उनले भने, ‘अदालतले गभर्नरलाई पुन: काममा फर्काएपछि मैले राजीनामा दिएको हुँ । यो कुरा धेरै पुरानो भइसक्यो ।’
अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘अर्थमन्त्री हट्नुपर्छ भन्ने कानुनी व्यवस्था छैन । तर उनले नैतिकताको आधारमा राजीनामा दिने हो ।’
नेकपा माओवादीनिकट उद्योगी–व्यवसायीहरू पनि आफ्नै पार्टीका अर्थमन्त्रीसँग त्यति सन्तुष्ट छैनन् । केही समयअघि नेकपा माओवादीको कार्यक्रममा पार्टीनिकट उद्योगी र व्यवसायीले अर्थमन्त्रीले निजी क्षेत्रमैत्री भएर काम नगरेको गुनासो गरेका थिए ।
