ठमेलमा आज एक विदेशी नागरिकको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज बिहान काठमाडौ ठमेलको होटलको सातौं तलाबाट खसेर आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्स नागरिकको निधन भएको हो।
ठमेलको होटल मनाङमा बसेका उनको बिहान करिब २ः३० बजे सातौं तलामा रहेको छतबाट खसेर निधन भएको प्रहरी उपरीक्षक मैनालीले बताए। प्रहरी उपरीक्षक मैनालीका अनुसार ‘प्रारम्भिक अनुसन्धानबाट उनको खसेर मृत्यु भएको जनाएका छन्।
फिलिप्स त्यस होटलमा एक जना साथीसँग बसेका थिए। उनका अरू साथीहरू पनि नेपालमा आए नआएको बुझ्ने काम भइरहेको प्रहरीले जनाएको हो।
मैनालीका अनुसार उनीहरू अप्रिल ६ मा नेपाल आएका थिए। परिसर प्रमुख, काठमाडौं उपत्यका अनुसन्धान कार्यालय प्रमुखलगायतको टोली घटनाबारे खबर भएपछि घटनास्थल पुगेका थिए।
