
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्नेमा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ५३ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले बताए।
‘गठबन्धनको कारण कांग्रेसले धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका र गठबन्धनले कांग्रेसलाई फाइदा भएको हुँदा गठबन्धन तोड्न नहुने देउवाले बताए । निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने ।सभापति देउवाले जबसम्म गाउँ र स्कुल तहमा नेविसंघ गठन हुन सक्दैन, तबसम्म नेविसंघ बलियो हुन नसक्ने बताए ।
‘नेविसंघको संगठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तर पनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसंघ गम्भीर हुनुपर्छ । स्कुल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ,’ उनले भने । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसंघको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताए । उनले आफू नेविसंघको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताए । ‘राजनीति गरेर मात्र अब चल्दैन पढाइ समेतमा योग्य हुनुपर्छ,’ सभापति देउवाले भने । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उनले गरे ।
सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
