सत्ता साझेदार दलहरु एक्ला एक्लै निर्वाचन लड्ने निर्णयमा भागबण्डामा कुरा नमिलेपछि

६ बैशाख २०७९, मंगलवार ०९:४१

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने विषयमा सहमती जुटाउन कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरुलाई कठिन भएको छ ।

कर्णाली प्रदेशको सत्ता साझेदार दलहरुको संयन्त्रको बैठकले सहमती गरेर पठाउनका लागि जिल्ला संयन्त्रलाई थप एक दिनको समय दिएको छ । दलहरुबीच पदीय भागबण्डामा कुरा नमिल्दा गठबन्धन हानथापको स्थितिमा पुगेको हो । भागबण्डा मिलाएर प्रदेशमा पठाउन समय सोमबारसम्म दिइएकोमा उक्त समयमा कसैले पनि नपठाएपछि मंगलबार एक दिन समय थपेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दलका प्रदेश स्तरीय नेताको उपस्थितिमा सोमबार बैठक बसेको थियो । बैठकले जिल्ला स्तरमा सहमती गरेर पठाउनका लागि एक दिनको समय थप गर्ने निर्णय गरेको नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले जानकारी दिए ।

जिल्लास्तरबाट सहमती भएर नआएको खण्डमा भने प्रदेशले केही गर्न नसकिने प्रदेश संयन्त्रमा सहभागी नेताहरुले बताएका छन् । सहमतिका लागि एक दिन समय थप गरिएको र मंलबारभित्रमा सहमती नभएमा संयन्त्रको पुनः बैठक बसेर कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल नेताहरुले बताएका छन् ।

एक्ला एक्लै निर्वाचन लड्ने निर्णयमा भागबण्डा नमिलेपछि अधिकांश जिल्ला तहमा दलहरु पुगेका छन् । सत्ता साझेदार दलहरु एक्ला एक्लै निर्वाचनमा जाने निर्णयमा कर्णालीका जिल्लाहरु डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लामा पनि पुगेका छन् ।