
घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन्। सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यसमेत रहेका गौतमले राजीनामा दिएका हुन्।
स्थानीय तहको निर्वाचन०७४ सालमा गौतमले माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार थिए। अहिले पनि उनले घोराही उपमहानगरपालिका मेयरको दाबी गरिरहेका थिए। तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उनले पार्टी परित्याग गरेका हुन्।
गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आएका छन्। माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाएका छन्। उनले माओवादी छोडे पनि कुनै पार्टीमा नजाने बताएका छन्।
