विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या र रकम दुवै उकालो

२ बैशाख २०७९, शुक्रबार ०६:४१

विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या र रकम दुवै उकालो लागेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडबाट हुने भुक्तानी संख्या र रकम दुवै बढेको छ।

नगद कारोबारलाई निरुत्साहित गर्न सरकार, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकरअपरेटरदेखि निजी क्षेत्र आक्रामक बन्दै गएपछि विद्युतीय भुक्तानी निरन्तर बढ्दै गएको देखिन्छ।

कनेक्ट आईपीएसबाट फागुनमा ३३ लाख ३९ हजार ५ सय ५४ वटा कारोबारबाट २ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी भएको छ। माघमा कनेक्ट आईपीएसबाट ३१ लाख ४० हजार २८० वटा कारोबारबाट २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ।

इन्टरनेट बैंकिङको कारोबार संख्या र रकम दुवै बढेको छ। माघमा दुई लाख ६७ हजार वटा कारोबार भएको इन्टरनेट बैंकिङमा फागुनमा बढेर २ लाख ७३ हजार पुगेको छ। माघमा इन्टरनेट बैंकिङ प्रयोग गरी १२ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी भएकोमा फागुनमा बढेर १३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, माघमा मोबाइल बैंकिङ प्रयोग गरी १ करोड ३८ लाखवटा कारोबारबाट ९२ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी भएको थियो। फागुनमा भने मोबाइल बैंकिङबाट हुने भुक्तानी बढेको छ।

फागुनमा १ करोड ५५ लाख ५९ हजार ९६० वटा कारोबारबाट १ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी, मोबाइल वालेटबाट हुने भुक्तानी संख्या र रकम दुवै बढेका छन्।

माघमा एक करोड २९ लाख वटा कारोबारबाट १४ अर्ब ५३ करोड भुक्तानी भएको थियो। फागनमा वालेटबाट एक करोड ४० लाख ३३ हजार ४९० वटा कारोबारबाट १६ अर्ब ५९ करोड भुक्तानी भएको छ।

पछिल्लो समय निकै रुचाइएको क्यूआर कोडबाट हुने कारोबार संख्या र रकम पनि बढेको राष्ट्र बैंकले जनाएको छ। माघमा १७ लाख ८२ हजार ३६३ वटा कारोबारबाट ६ अर्ब ८९ करोड २ रुपैयाँ भुक्तानी भएको थियो। फागुनमा भने कारोबार संख्या बढेर २३ लाख ७ हजार ९०४ पुगेको छ। जसबाट फागुनमा ७ अर्ब ७६ करोडको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।