बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा वृद्धिदरमा गिरावट

२ बैशाख २०७९, शुक्रबार ०६:२७

बैंकिङ्ग प्रणालीमा तरलताको असर देखिँदा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा वृद्धिदरमा त्यसको असर देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट फागुन महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.६० प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिनासम्मको तथ्यांक अनुसार फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो वृद्धि १७.४० प्रतिशत रहेको थियो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबाट वार्षिक बिन्दुगत आधारमा भने निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २२.२० प्रतिशतले बढेको छ । सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.४० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २५.२० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको फागुन मसान्तसम्ममा लगानीमा रहेको कर्जामध्ये ६७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.५० प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ फागुन मसान्तमा लगानीमा रहेको कर्जामध्ये घर जग्गाको धितोमा ६६.२० प्रतिशत र कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा १२.३० प्रतिशत रहेको थियो । यस अवधिमा घर जग्गा धितोमा रहेको लगानी ०.८० प्रतिशत र चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा रहेको कर्जा ०.२० प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले बढेको छ ।