मन्त्रिपरिषद् बैठकमा किन विप्लवको पार्टी मागबारे कुनै निर्णय हुन सकेन ?

३० चैत्र २०७८, बुधबार १३:५८

स्थानीय चुनावमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कसरी सरकारमा सहभागी गराउने भन्ने विषयमा छलफल भएको छ ।

विप्लव नेतृत्वको नेकपाले आसन्न स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाइदिन माग गर्दै आएको थियो । सरकारले उक्त पार्टीको मागको विषयमा आजऔपचारिक छलफल गरेको हो ।

विप्लवको पार्टीले अघि सारेका मागबारे आज बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भए तर कुनै निर्णय हुन नसकेको एक मन्त्रीले जानकारी गराए । ‘विप्लवको पार्टीले चुनावमा भाग लिन वातावरण बनाइदिनुपर्‍यो भनेर सरकारसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग गरेको आग्रहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भयो’, ती मन्त्रीले भने, ‘तर निर्णय कुनै हुन सकेन ।’

‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ छ’, विप्लवका मागबारे गृहमन्त्री बालकृष्ण खाँणले ब्रिफिङ गरेका थिए । ‘त्यसक्रममा यदि विप्लव निर्वाचनमा सहभागी भए उनको पार्टीलाई चुनाव चिह्न समेत दिन सकिनेमा पुगिएको छ,’ अर्का एक मन्त्रीले भने, ‘अरू मागमा पुन छलफल आवश्यक रहेको देखियो ।’​

आगामी वैशाख ३० को स्थानीय निर्वाचन विप्लवलाई देखाएर सार्ने षड्यन्त्र भएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले बताउँदै आएको छ।