एमाले अध्यक्ष ओलीले दिए प्रधानमन्त्री देउवालाई चेतावनी

२९ चैत्र २०७८, मंगलवार १७:४९

सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्माओलीले आरोप लगाएका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको अध्यक्ष ओलीले तर्क गरे।

पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न विप्लव नेतृत्वको नेकपालाई एमाले जिल्ला कमिटी ललितपुरले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आग्रह गरे । अध्यक्ष ओलीले चुनाव सारेर पालिकालाई रिक्त बनाउने २०५९ सालमा आफैँले गरेको गरेको गल्ती दोहोर्‍याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए ।

उनले भने, ‘यो गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको छ । चुनाव सारेर पालिका तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने । अहिले विप्लवलाई अगाडि सार्नुभएको छ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आउँदो वैशाख ३० गते हुने पालिका चुनाव सार्न मिल्दैन । यो देशको हितविरुद्धको षड्यन्त्र हुन्छ । यो षड्यन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

सरकारलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन अध्यक्ष ओलीले दबाब दिए।