भरतपुरको मेयर रेनुलाई बनाउन प्रधानमन्त्री देउवा पनि सहमत

२९ चैत्र २०७८, मंगलवार १३:०७

आसन्न स्थानीय तहको निर्वाचनमा कसरीअघि बढ्ने भन्नेविषयमा सत्ता गठबन्धनका दलहरुले तालमेलको खाका तयार पारिरहेको छन्। आवश्यकता अनुसार देशव्यापी रुपमा स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनका दलहरुले निर्णय गरेका हुन्।

जुन जुन दलले जहाँ मेयर जितेको छ, त्यहाँ त्यहाँ उसैलाई छोड्ने सहमति हिजो बसेको गठबन्धनको बैठकमा भएको हो। गठबन्धनमा सबैभन्दा पेचिलो बनेको भरतपुर महानगरपालिका हो । अहिले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु मेयर छिन् ।

उनी ०७४ को चुनावमा पनि कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट मेयर बनेकी हुन् । दाहालले आफूले धेरै नै राम्रो काम गरेको भन्दै एक कार्यकाल दोहोरिने बताएकी छिन् । प्रचण्डले पनि भरतपुर पुगेर रेनुले गरेका कामको प्रशंसा गर्ने गरेका छन् ।

उनले माओवादी केन्द्रले मेयर लिँदा भरतपुर नै पाउनुपर्ने अडान राखेका छन् । यसमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत भएको बताईएको छ । उनले गठबन्धनकै नेताहरुसँग भरतपुर महानगर माओवादीलाई दिने बताएका हुन् ।

तर, चितवन कांग्रेसले भने कुनैपनि हालतमा केन्द्रबाट लादिएको गठबन्धन नमान्ने बताउँदै आएको छ । जिल्लाका नेताहरुले केन्द्रमा आएर नेतृत्वलाई भरतपुर कुनैपनि हालतमा माओवादीलाई नछोड्न दबाब दिएका छन् ।

भरतपुर माओवादीलाई दिन नहुने मत सभापति देउवाबाहेक अरु नेताले राखेका छन् । भरतपुर माओवादीलाई छोड्नुपर्ने मत कांग्रेसमा अहिले बलियो भएको छ ।