माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावलाई केन्द्रित गरी ६ बुँदे सर्कुलर जारी गरेका छन्।
पालिका चुनावको उम्मेदवार छनोटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्बनका लागि हिजो केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष प्रचण्डले सर्कुलर पठाएका हुन्। वैशाख ५ गतेभित्र उम्मेदवार हुनेको नाम सिफारिस गरिसक्न सर्कुलरमा पार्टीको तर्फबाट भनिएको छ ।
महानगर र उपमहानगरमा सकेसम्म सर्वसम्मत नभए बढीमा ३ जना उम्मेदवारको नाम चयन गरी पठाउनुपर्नेछ । नगरपालिका र गाउँपालिकामा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको सिफारिस सम्बन्धित पालिका समितिले गर्नुपर्नेछ ।
माओवादी केन्द्रले महिलालाई उपमा सीमित नगरि प्रमुखको भूमिकालाई जोड दिने निर्णय पनि गरेको छ । हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलरमार्फत भनिएको छ । यस्तै, वडा अध्यक्ष र सदस्यको हकमा पार्टीको वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्नेछ भने प्रदेश समितिले अनुमोदन गर्नेछ ।
सत्तागठबन्धन दलबीच तालमेल गर्न र केन्द्रको स्वीकृति विना आफूखुसी गठबन्धन तोड्न रोक लगाइएको छ । तालमेल हुन नसक्ने अवस्थामा केन्द्रको स्वीकृति लिइ आवश्यक निर्णय गर्ने सर्कुलरमा भनिएको छ ।
नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।
