पालिका प्रमुख वा अध्यक्षमा र वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न प्रचण्डको निर्देशन

२९ चैत्र २०७८, मंगलवार १२:०३

स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित भन्दै नेकपा (माओवादी केन्द्र)ले सबै जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र हरेक पालिकाबाट एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।

सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।

पार्टीको यस्तो व्यवस्था हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि निकै महत्वपूर्ण हुने माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी बताइन् । ‘एक पालिकाबाट न्यूनतम एक महिला वडाध्यक्ष र एक जिल्लाबाट न्यूनतम १ महिला पालिका प्रमुख वा अध्यक्ष अनिवार्य गराउँदा देशभरीबाट माओवादी पार्टीबाट मात्रै न्यूनतम ७७ पालिका प्रमुख वा अध्यक्ष र न्यूनतम ७५३ वडा अध्यक्ष हुनेछन्’ उनको भनाइ छ, ‘हेर्दा सामान्य जस्तो लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि यो निकै महत्वपूर्ण हुनेछ ।’

सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु पर्ने निर्देशनसमेत सर्कुलरमा छ । माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ।

महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम माओवादीको प्रदेश समितिहरूले सर्वसम्मत भए एक एक जना र सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ। केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गर्ने छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ । अनुमोदन भने केन्द्रीय कार्यालयले गर्ने छ।

सर्कुलरमा उल्लेख भए अनुसार गठबन्धनमा तालमेलका लागि प्राथमिकताका दिने, तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबीच प्रतिष्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिएर गर्नुपर्ने छ।