अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्ने सरकारको निर्णय कानुनअनुसार नै भएको बताएका छन्। अर्थमन्त्रालयमा देशको अर्थतन्त्रको ताजा अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शर्माले गभर्नरको विषयमा छानबिन समिति बनेको र उक्त समितिको प्रतिवेदन आएपछि सबै कुरा स्पष्ट हुने बताए।
‘कारबाही कानुनअनुसार नै छ। छानबिनका लागि समिति बनेको छ,’ उनले भने, ‘के के कारणले कारबाही भन्ने कुरा छानबिन समितिको रिपोर्ट आएपछि जानकारी भइहाल्छ। अहिले छानबिन समितिलाई काम गर्न दिऔँ।’ उनले देशको अर्थतन्त्र श्रीलंका बन्ने बाटोमा नरहेको उनको भनाइ छ।
शर्माले अर्थतन्त्र चलायमान भएको, पर्यटकहरु आउनेक्रम बढेको, रेमिट्यान्स आउनेक्रम जारी रहेको, राजस्व पनि उठि रहेकोले जोखिमतर्फ देश नरहेको बताए।
